काठमाडौँ।
स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ भव्य रूपमा सम्पन्न भएको छ।
कात्तिक ९ गतेदेखि सुरु भएको महोत्सव कात्तिक १९ गतेसम्म सञ्चालन गर्ने योजना रहे पनि लगातारको वर्षाका कारण कार्यक्रम प्रभावित भएपछि थप चार दिन सञ्चालन गरिएको थियो। वर्षाका कारण केही दिन महोत्सव रोक्नुपरे पनि मौसममा सुधार आएपछि पुनः सञ्चालन गरिएको महोत्सव अन्ततः कात्तिक २३ गते सम्पन्न भएको हो।
महोत्सवको अन्तिम दिन चर्चित गायक दुर्गेश थापालगायत अन्य राष्ट्रिय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनेको थियो। कलाकारहरूको प्रस्तुतिमा दर्शकहरू नाच्दै, गाउँदै र रमाउँदै महोत्सवको अन्तिम दिनलाई उत्सवमय बनाएका थिए। अन्तिम दिन पनि दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
महोत्सव अवधिभर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। साथै, मनोरञ्जनात्मक गतिविधि, व्यापारिक स्टल तथा बाल उद्यानका आकर्षणहरूले सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय व्यापार प्रवर्द्धनमा समेत सहयोग पुर्याएको थियो।
श्री सांस्कृतिक मेला महोत्सव तथा बाल उद्यान सञ्चालन केन्द्र प्रा.लि.को आयोजनामा सम्पन्न महोत्सवका आयोजक दीपक दाहाल रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व सीताराम दाहालले गर्नुभएको थियो। त्यसैगरी, महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरूको समन्वय, प्रस्तुति व्यवस्थापन तथा दर्शक व्यवस्थापनमा सुबास महतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
वर्षाका कारण निर्धारित समयभन्दा केही दिन लम्बिएको भए पनि आयोजक, कलाकार, स्थानीयवासी तथा दर्शकहरूको सहयोग र सहभागिताले महोत्सव सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस महोत्सवले थली क्षेत्रको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै स्थानीय व्यवसायी, कलाकार र सर्वसाधारणबीच आपसी सम्बन्ध तथा सहकार्य बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, दर्शक, स्थानीयवासी, व्यवसायी, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति आयोजकले आभार व्यक्त गरेका छन्।


