काठमाडौँ।
स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले कात्तिक ९ गतेदेखि कात्तिक १९ गतेसम्म सञ्चालन गर्ने लक्ष्यसहित आयोजना गरिएको दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ केही दिनको अविरल वर्षाका कारण प्रभावित भएको छ।
महोत्सव सुरु भएदेखि उत्साहजनक रूपमा अघि बढिरहेको कार्यक्रममा पछिल्ला तीन दिनको लगातार वर्षाले अवरोध सिर्जना गरेको थियो। वर्षाका कारण हिजो र अघिल्लो दिन महोत्सवका कार्यक्रमहरू सञ्चालन हुन नसकेपछि केही समयका लागि महोत्सव स्थगित गर्नुपरेको थियो।
यद्यपि, आजदेखि मौसममा सुधार आएपछि महोत्सव पुनः सञ्चालनमा आएको छ। मौसम अनुकूल बनेसँगै आयोजकले रोकिएका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिएका छन्।
महोत्सवका आयोजक दीपक दाहालका अनुसार स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवलाई सफल बनाउन आयोजक टोली निरन्तर सक्रिय रहेको छ। कार्यक्रमको सभापतित्व सीताराम दाहालले गर्दै आउनुभएको छ।
त्यसैगरी, महोत्सवमा सहभागी राष्ट्रिय कलाकारहरूको प्रस्तुति व्यवस्थापन तथा दर्शकहरूको समन्वय र व्यवस्थापनमा सुबास महतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।
वर्षाका कारण केही दिन कार्यक्रम प्रभावित भए पनि मौसममा सुधार आएसँगै महोत्सव पुनः सञ्चालनमा आएपछि आयोजकले दर्शक तथा स्थानीयवासीलाई महोत्सवमा सहभागी भई मनोरञ्जन लिन र स्थानीय कला, संस्कृति तथा व्यापार प्रवर्द्धनमा साथ दिन आग्रह गरेका छन्।
थली चौर, साँखु जाने बाटोमा सञ्चालन भइरहेको महोत्सव कात्तिक १९ गतेसम्म जारी रहने आयोजकले जनाएको छ।
