काठमाडौँ।
तेस्रो चन्द्रागिरि सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ मा आज राष्ट्रिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतिले महोत्सवस्थल संगीतमय बनेको छ। विशेषगरी गायक रामकृष्ण श्रेष्ठ र गायिका सन्तोषी कार्कीको दमदार प्रस्तुतिले दर्शकहरूलाई नचाउँदै महोत्सवको माहोल थप उत्साहपूर्ण बनाएको थियो।
चन्द्रागिरि नगरपालिका–६, बालागाउँस्थित मातातीर्थ कुण्ड चौरमा जारी महोत्सवमा रामकृष्ण श्रेष्ठ र सन्तोषी कार्कीले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत दर्शकको मन जितेका थिए। उनीहरूको प्रस्तुतिमा दर्शकहरू गीतसँगै झुम्दै, नाच्दै र रमाउँदै मनोरञ्जन लिएका थिए।
त्यसैगरी, चर्चित कलाकार पशुपति शर्मा, जितु लोप्चन, निशा देशार, धिरज राई, चेतन राई, अञ्जु सुनार, अनित बिष्टलगायत अन्य राष्ट्रिय कलाकारहरूले समेत आ–आफ्नो बेजोड प्रस्तुति दिएका थिए। विभिन्न विधाका गीत–संगीत र कलाकारहरूको प्रस्तुतिले आजको कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो।
महोत्सवमा कलाकारहरूको प्रस्तुति हेर्न स्थानीय बासिन्दासहित विभिन्न क्षेत्रबाट दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दर्शकहरूको उत्साहपूर्ण सहभागिताले महोत्सवस्थलमा उत्सवमय वातावरण सिर्जना गरेको थियो।
स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो चन्द्रागिरि सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ मा विभिन्न सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन भइरहेका छन्।
महोत्सवको कार्यक्रम व्यवस्थापन तथा समन्वयको जिम्मेवारी सन्दीप महतले सम्हाल्नुभएको छ। उहाँको समन्वयमा कलाकारहरूको प्रस्तुति तथा कार्यक्रम सञ्चालनलाई व्यवस्थित बनाइएको छ।
कात्तिक १३ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महोत्सवमा सहभागी भई स्थानीय कला, संस्कृति तथा व्यापारको प्रवर्द्धनमा साथ दिन आयोजकले सम्पूर्ण दर्शक तथा स्थानीयवासीलाई आग्रह गरेका छन्।
