एकादशी मेलालाई लक्षित गर्दै तनहुँको भादगाउँमा मङ्सिर २ गतेदेखि सुरु भएको ‘चौथौँ दमौली भेटीबजार भादगाउँ तनहुँ सांस्कृतिक महोत्सव २०८३’ जारी रहेको छ। मङ्सिर १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।
एकादशी मेलाको अवसरलाई थप उल्लासमय बनाउने तथा स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरूका साथै विभिन्न सांस्कृतिक समूहको प्रस्तुति रहने आयोजकले जनाएको छ।
दोभान युवा क्लबको मुख्य आयोजना तथा दोभान आमा समूहको सह-आयोजनामा सञ्चालन भइरहेको महोत्सवको व्यवस्थापन औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपाल, काठमाडौंले गरिरहेको छ।
महोत्सवबारे जानकारी दिँदै कलाकार संयोजक ऋषि थापाले एकादशी मेलालाई विशेष र आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको बताएका छन्।
महोत्सवमा सहभागी भई विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिको मनोरञ्जन लिन आयोजकले सम्पूर्ण जिल्लावासी, दर्शक तथा मेलाप्रेमीहरूलाई आग्रह गरेको छ।


