काठमाडौँ।
दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ मा आज पनि राष्ट्रिय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुतिले महोत्सवस्थल उत्सवमय बनेको छ। चर्चित गायिका शान्ता रानी परियार र एन्जिलाको प्रस्तुतिमा दर्शकहरू गीत–संगीतसँगै झुमेका थिए।
थली चौरमा जारी महोत्सवमा गायिका शान्ता रानी परियारले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नुभएको थियो। त्यस्तै, गायिका एन्जिलाको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो। दुवै कलाकारको प्रस्तुतिमा दर्शकहरू नाच्दै, गाउँदै र रमाउँदै महोत्सवको आनन्द लिएका थिए।
त्यसैगरी, गायिका सिर्जना खत्री, गायिका बबिना किराँती, गायक राजेन्द्र गिरी, निमा शेर्पा लगायत अन्य राष्ट्रिय कलाकारहरूले समेत आ–आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। विभिन्न विधाका कलाकारहरूको सहभागिताले आजको कार्यक्रमलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाएको थियो।
महोत्सवमा कलाकारहरूको प्रस्तुति हेर्न स्थानीय बासिन्दासहित विभिन्न क्षेत्रबाट दर्शकहरूको उपस्थिति रहेको थियो। दर्शकहरूको उत्साहपूर्ण सहभागिताले महोत्सवस्थलमा छुट्टै रौनक थपिएको थियो।
स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ श्री सांस्कृतिक मेला महोत्सव तथा बाल उद्यान सञ्चालन केन्द्र प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको छ। महोत्सवका आयोजक दीपक दाहाल रहनुभएको छ भने कार्यक्रमको सभापतित्व सीताराम दाहालले गर्दै आउनुभएको छ।
त्यसैगरी, महोत्सवमा सहभागी कलाकारहरूको समन्वय तथा दर्शक व्यवस्थापनमा सुबास महतले सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
कात्तिक ९ गतेदेखि सुरु भएको महोत्सव कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै व्यापारिक स्टल, बाल उद्यान तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालनमा रहेका छन्।
आयोजकले आगामी कार्यक्रमहरूमा समेत सहभागी भई महोत्सवलाई सफल बनाउन सम्पूर्ण दर्शक तथा स्थानीयवासीलाई आग्रह गरेका छन्।
