प्राकृतिक विपत्तिका कारण सिर्जिएको मानवीय पीडा, जनधनको क्षति र विस्थापनको कथालाई समेट्दै गायक तथा संगीतकार चेतन राईको नयाँ गीत ‘बाढी आयो पहिरो आयो’ सार्वजनिक भएको छ।

१० भदौमा नेपालका विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै गीत सार्वजनिक गरिएको हो। साथै, विपत्तिबाट प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता प्रकट गर्ने उद्देश्य गीतमार्फत व्यक्त गरिएको छ।

गीतमा बाढी तथा पहिरोपछि सिर्जिएको मानवीय संकट, घरबास गुमाएका परिवारको पीडा, विस्थापन र प्रभावित क्षेत्रको अस्तव्यस्त जनजीवनलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। विपत्तिको पीडालाई उजागर गर्नुका साथै कठिन परिस्थितिमा पनि आशा, साहस, आपसी सहयोग र एकताको भावना कायम राख्नुपर्ने सन्देश गीतले दिएको छ।

विपत्तिका बेला निराश भएर बस्नुभन्दा एकजुट भई अघि बढ्न र समस्यामा परेका नागरिकलाई सहयोग गर्न गीतमार्फत आह्वान गरिएको छ। दुःख र निराशाबीच पनि सामूहिक प्रयासबाट पुनःउत्थान सम्भव छ भन्ने सकारात्मक भाव गीतको मूल सन्देशका रूपमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा बाढी तथा पहिरोबाट भएको विनाशका हृदयविदारक दृश्यसँगै विपत्तिको समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा नागरिकका प्रयासहरूलाई समेत समेटिएको छ। यसले विपत्तिको भयावहता र त्यसबीच देखिएको मानवीय सहयोगलाई एकैसाथ प्रस्तुत गरेको छ।

भिडियोमा स्वयं गायक चेतन राईको अभिनय रहेको छ। विभिन्न प्राकृतिक स्थल, मन्दिर तथा झोलुङ्गे पुललगायतका स्थानमा गीतको भावअनुसार राईलाई अभिनय गर्दै गरेको देख्न सकिन्छ।

‘बाढी आयो पहिरो आयो’ का शब्द, संगीत र स्वर चेतन राईकै रहेको छ भने गीतको एरेन्ज सबिर कार्कीले गरेका हुन्।

Worldwide Khabar


Leave a Reply

Your email address will not be published. Required fields are marked *